
सरकारले डिजिटल सुशासन सुदृढ गर्दै नागरिकलाई प्रत्यक्ष सेवा दिने उद्देश्यसहित अनलाइन सेवा विस्तारलाई तीव्र बनाएको छ। अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) समेत Nagarik App मार्फत उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ।

सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार प्रणाली परीक्षण अन्तिम चरणमा छ र एक साताभित्र पूर्ण कार्यान्वयन हुने अपेक्षा गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ४५ दिनभित्र सबै सेवा एकीकृत गर्ने लक्ष्य लिएको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाग्राहीमैत्री प्रणाली छिटो लागू गर्न निर्देशन दिएका छन्। नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा इन्जिनियर प्रमाणपत्रसमेत एपमार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ।


यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड सेवा सुरु भइसकेको छ। नयाँ सेवासहित नागरिक एपलाई ‘वन-स्टप डिजिटल प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य छ।
यस पहलले सरकारी सेवा छिटो, पारदर्शी र कम झन्झटिलो बनाउँदै डिजिटल नेपाल अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।































