
धनगढीः विद्यालय जाने दिन भन्नासाथ भारी किताब बोक्ने पुरानो अभ्यास विस्तारै बदलिँदै गएको छ। धनगढी उपमहानगरपालिका भित्रका विद्यार्थीहरू अब शुक्रबार फरक उत्साहका साथ कक्षाकोठा पुग्ने गरेका छन्—हातमा किताब होइन, व्यवहारिक सीप सिक्ने जोश बोकेर।

उपमहानगरपालिकाले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम अहिले व्यवहारिक शिक्षाको प्रभावकारी नमूनाका रूपमा स्थापित हुँदै गएको छ। यस कार्यक्रमअन्तर्गत भवानी माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू मोबाइल बनाउने तथा मर्मत गर्ने तालिममा सक्रिय रूपमा सहभागी भइरहेका छन्।
कक्षाकोठाभित्र स्क्रु ड्राइभर, सर्किट बोर्ड र मोबाइलका विभिन्न पार्ट्ससँग अभ्यास गर्दै विद्यार्थीहरूले छोटो समयमै उल्लेखनीय प्रगति देखाएका छन्। उनीहरूले मोबाइलको डिस्प्ले फेर्ने, ब्याट्री परीक्षण गर्ने, मदरबोर्डका सामान्य समस्या पहिचान गर्ने तथा मर्मत गर्ने जस्ता आधारभूत प्राविधिक सीपहरू सिकिसकेका छन्।




उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत घुम्मनसिंह बडायकका अनुसार सानै उमेरदेखि व्यवहारिक सीपसँग विद्यार्थीलाई जोड्नु आजको आवश्यकता हो। “मोबाइलको संरचना बुझ्ने, समस्या पहिचान गर्ने र समाधान गर्ने सीप सिकाउँदैछौँ। विद्यार्थीहरूले देखाएको प्रगति उत्साहजनक छ,” उनले बताए।
प्रशिक्षकहरूका अनुसार विद्यार्थीहरूमा सिक्ने उत्साह र लगनशीलता उच्च देखिएको छ। उनीहरूले सिकाइलाई छिटो आत्मसात् गर्ने क्षमताका कारण भविष्यमा यही सीपलाई आयआर्जनको माध्यम बनाउन सक्ने सम्भावना बलियो रहेको बताइएको छ।
विद्यार्थीहरूले पनि कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यस्तो सीपले भविष्यमा रोजगारी तथा आत्मनिर्भरतामा ठूलो सहयोग पुग्नेछ। “पढाइसँगै केही व्यवहारिक कुरा सिक्न पाउँदा धेरै उपयोगी भएको छ,” उनीहरूको भनाइ छ।
‘बुक फ्रि फ्राइडे’ कार्यक्रमले परम्परागत किताबी शिक्षण पद्धतिभन्दा बाहिर निस्केर व्यवहारिक ज्ञान र सीप विकासमा जोड दिएको छ। गत वर्ष ठेकराज माध्यमिक विद्यालयबाट सुरु गरिएको यो कार्यक्रम अहिले भवानी मावि र शिद्धनाथ माध्यमिक विद्यालयसम्म विस्तार गरिएको छ।
स्थानीय तहको यस्तो पहलले शिक्षा र रोजगारीबीचको दूरी घटाउँदै विद्यार्थीहरूलाई आत्मनिर्भर, सक्षम र सीपयुक्त बनाउने अपेक्षा गरिएको छ।



































