
काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाली जेनजी युवालाई लक्षित गर्दै ‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम (सीएनवाईपी)’ सञ्चालन गर्ने घोषणा गरेको छ। कार्यक्रममार्फत नेतृत्व विकास, सामाजिक–आर्थिक रूपान्तरणमा युवाको भूमिका विस्तार र चीन–नेपालबीच सहकार्य मजबुत बनाउने लक्ष्य राखिएको छ।

दूतावासका अनुसार सहभागीहरूलाई नेतृत्व तालिम, नीति तथा सामाजिक विषयमा छलफल, कार्यशाला र अध्ययन भ्रमणमा सहभागी गराइनेछ। उत्कृष्ट सहभागीलाई चीन भ्रमणको अवसरसमेत दिइनेछ। साथै विभिन्न क्षेत्रका विज्ञ, कूटनीतिज्ञ र उद्यमीसँग अन्तरक्रियाको अवसर प्रदान गरिनेछ।

२२ देखि ३४ वर्ष उमेर समूहका नेपाली युवा पेशाकर्मी, सामाजिक अभियन्ता तथा अन्य क्षेत्रका इच्छुक व्यक्तिले सन् २०२६ मे १७ सम्म आवेदन दिन सक्नेछन्। छनोट प्रक्रिया प्रतिस्पर्धात्मक हुने र अन्ततः १० देखि २० जना सहभागी चयन गरिने जनाइएको छ।

एक वर्षे कार्यक्रमअन्तर्गत सहभागीहरू विभिन्न गतिविधिमा संलग्न हुनेछन् र पछि अल्मुनाइ सञ्जालमा आवद्ध हुनेछन्। यस्तै कार्यक्रम अमेरिका लगायतका देशले पनि सञ्चालन गर्दै आएका छन्, जसलाई विश्लेषकहरूले ‘सफ्ट पावर’ कूटनीतिक रणनीतिको रूपमा हेर्ने गरेका छन्।





























