
मुस्ताङको जोमसोममा उच्च हिमाली क्षेत्रको प्रभावका कारण एक भारतीय पर्यटकको मृत्यु भएको छ। भारतको तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठी मुक्तिनाथ दर्शनका लागि आएको टोलीसँगै जोमसोम पुगेका थिए।

प्रहरीका अनुसार, घरपझोङ गाउँपालिका–४ स्थित होटल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा उनलाई अचानक लेक लागेर श्वासप्रश्वासमा समस्या देखिएको थियो। समस्या देखिएलगत्तै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

भानु मठ्ठीसहित २४ जनाको टोली धार्मिक यात्राका लागि मुस्ताङ पुगेको थियो। उच्च भू–भागमा हुने अक्सिजनको कमीका कारण यस्तो समस्या देखिने गर्दछ, जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको भदौदेखि हालसम्म लेक लागेर पाँच विदेशीसहित आठ जनाको मृत्यु भइसकेको छ। तीमध्ये चार भारतीय, एक मेक्सिकन र तीन नेपाली पर्यटक रहेका छन्।





























