
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन हुने भएका छन्।
संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरेको थियो।

गएको शुक्रबार (वैशाख ११) गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको छ। आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटिसकेको कार्यदलका एक पदाधिकारीले जानकारी दिएका छन्।

आङ्देम्बे समानुपातिकतर्फबाट सांसद निर्वाचित भएका हुन्। सर्वसम्मत रूपमा पाएमा संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसीले पनि इच्छा व्यक्त गरेका थिए। केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित तथा पूर्वसहमहामन्त्री हुन्।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा अन्त्य गर्दै सर्वसम्मत नेतृत्व चयनमार्फत एकताको सन्देश दिन खोजिएको नेताहरूको बुझाइ छ। कार्यदलको सिफारिसलाई अन्तिम रूप दिएपछि आगामी संसदीय दल बैठकले औपचारिक घोषणा गर्ने तयारी गरिएको छ। यससँगै कांग्रेसभित्र लामो समयदेखिको नेतृत्व विवाद टुंगिने अपेक्षा गरिएको छ आगामी दिनमा औपचारिक निर्णय आउने विश्वास गरिएको छ।





























