
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ (१) अनुसार जारी गरिएका यी अध्यादेशले विभिन्न क्षेत्रका कानुनी व्यवस्थामा सुधार गर्ने लक्ष्य राखेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरिएको हो।

संसद् अधिवेशन नभएको अवस्थामा आवश्यक कानुनी व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन सरकारले अध्यादेशको माध्यम अपनाएको जनाएको छ। यी अध्यादेशहरूले स्वास्थ्य, शिक्षा तथा सार्वजनिक प्रशासनसँग सम्बन्धित कानुनमा आवश्यक संशोधन तथा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

































