
केही दिनयता लगातार परेको वर्षासँगै आएको पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। आज बिहानै खसेको पहिरोले ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्ति लोकपथ, प्युठानको सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्ति लोकपथ तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग ठप्प बनाएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन्।

उनका अनुसार वैशाख १६ गते खसेको पहिरोले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध छ। यसैबीच, वैशाख १२ गतेको बाढीले अवरुद्ध बनाएको भोजपुरको मध्यपहाडी लोकमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ। यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा छ।

प्रहरीले वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले अवरुद्ध तथा आंशिक सञ्चालनमा रहेका सडकमा अत्यन्त सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
































