
कञ्चनपुरः विद्यार्थीहरूमा विज्ञान, प्रविधि, सिर्जनशीलता तथा व्यवहारिक सीप विकास गर्ने उद्देश्यले वेदान्त विद्या मन्दिर मा चारदिने छुकछुके रोबोट निर्माण कार्यशाला २०८३ सञ्चालन हुँदै छ। कार्यशाला वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ भने जेठ ३ गते अभिभावक भेटघाट तथा छुकछुके रोबोट फुटबल प्रदर्शनी कार्यक्रम आयोजना गरिने विद्यालयले जनाएको छ।

विद्यालयका प्राचार्य राकेश चन्द ले आधुनिक शिक्षामा व्यवहारिक सिकाइको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्न कार्यशाला आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा नवप्रवर्तन, समस्या समाधान क्षमता, टोलीगत कार्य तथा आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।


कार्यशालामा विद्यार्थीहरूले कम्प्युटरमार्फत डिजिटल डिजाइन, मेकानिकल संरचना निर्माण, इलेक्ट्रोनिक जडान तथा सञ्चालनसहित आफ्नै छुकछुके रोबोट तयार गर्नेछन्। अन्तिम दिन विद्यार्थीहरूद्वारा निर्मित रोबोटहरूको रोमाञ्चक फुटबल प्रतियोगिता तथा अभिभावकसामु प्रत्यक्ष प्रदर्शन गरिनेछ।
कार्यक्रमको सहजीकरण गोदावरी आविष्कार केन्द्र ले गर्नेछ भने प्रशिक्षकका रूपमा शेखर राम साउद र सम्राट भट्ट रहनुहुनेछ। आयोजकका अनुसार कार्यशालाले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी “सिकौं, बनाऔं र नवप्रवर्तन गरौं” भन्ने अवधारणाअनुसार व्यवहारिक निर्माण प्रक्रियामा सहभागी गराउनेछ।
विद्यालय प्रशासनले सुदूरपश्चिम क्षेत्रमा विद्यालयस्तरमै सञ्चालन हुँदै आएको यस्तो व्यवहारिक रोबोटिक्स कार्यक्रमले विज्ञान तथा प्रविधिप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरेको छ। साथै अभिभावक, शिक्षाप्रेमी तथा स्थानीय समुदायलाई अन्तिम दिन आयोजना हुने रोबोट फुटबल प्रदर्शनी अवलोकन गर्न समेत आग्रह गरिएको छ।































