
कञ्चनपुर: वेदान्त विद्या मन्दिर मा सञ्चालन भइरहेको छुकछुके रोबोट निर्माण कार्यशाला २०८३ अन्तर्गत विद्यार्थीहरूद्वारा निर्मित रोबोटहरूको विशेष छुकछुके रोबोट फुटबल प्रतियोगिता तथा अभिभावक भेटघाट कार्यक्रम जेठ ३ गते बिहान ९:०० बजे आयोजना हुँदैछ।

विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, नवप्रवर्तन तथा व्यवहारिक शिक्षासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले सञ्चालित यस कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नै हातले निर्माण गरेका छुकछुके रोबोटहरूको प्रत्यक्ष प्रदर्शन गर्नेछन्। कार्यक्रममा रोबोट फुटबल प्रतियोगिता, विद्यार्थी नवप्रवर्तन प्रदर्शनी तथा अभिभावकसँग अन्तरक्रिया समेत रहने आयोजकले जनाएको छ।


विद्यालयका प्राचार्य राकेश चन्द ले यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान क्षमता तथा आत्मविश्वास विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण गोदावरी आविष्कार केन्द्र ले गरिरहेको छ भने STEAM प्रशिक्षक शेखर राम साउद र सम्राट भट्ट ले प्रशिक्षण प्रदान गरिरहनुभएको छ।
यस विशेष कार्यक्रममा सम्पूर्ण सञ्चारकर्मी, पत्रकार मित्र, अभिभावक, शिक्षाप्रेमी महानुभाव तथा स्थानीय समुदायलाई उपस्थित भई विद्यार्थीहरूको सिर्जना र नवप्रवर्तनलाई हौसला प्रदान गर्न आयोजकले अनुरोध गरेको छ।
































