
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा सीमा विवादलाई लिएर भएको कुटपिट घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीय समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहित पाँच जनामाथि कुटपिट गरेपछि सुरक्षास्थिति संवेदनशील बनेको हो । उक्त घटनापछि ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर पुगेको धनगढीका मेयर गोपाल नेतृत्वको टोली पनि अवरोधका कारण साइपाल बेसक्याम्प पुग्न नसकी फर्किन बाध्य भएको थियो ।

घटनाको एक सातापछि जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको संयुक्त टोली लाम्पाटातर्फ परिचालन गरेको छ । प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा घटनास्थलको वस्तुस्थितिबारे अध्ययन भइरहेको छ । टोली शनिबार प्रस्थान गरी आइतबारसम्म लाम्पाटा पुग्ने अपेक्षा गरिएको छ ।
सशस्त्र प्रहरीतर्फ असईको नेतृत्वमा छुट्टै टोली पनि खटाइएको छ । सीमा विवाद र कुटपिटपछि घाइते भएका वडा सदस्यसहितका सबैको काठमाडौँमा उपचार भई अवस्था सामान्य भएपछि उनीहरू डिस्चार्ज भइसकेका छन् । स्थानीयस्तरमा सम्भावित तनाव रोक्न सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।


प्रहरीले दुवै जिल्लाबीचको सीमा विवाद समाधानका लागि स्थानीय तहसँग समन्वय गर्दै दीर्घकालीन शान्ति कायम गर्ने पहल भइरहेको जनाएको छ । घटनापछि स्थानीय बासिन्दामा त्रास भए पनि नियमित गस्ती र संवादमार्फत अवस्था नियन्त्रणमा राखिने सुरक्षा निकायले स्पष्ट पारेका छन् । स्थिति सामान्य बनाउन दुवै जिल्लाका जनप्रतिनिधि पनि छलफलमा जुट्ने तयारीमा छन् ।
प्रशासनले निगरानी थप सशक्त बनाउने र संयम अपनाउन आग्रह गर्यो । सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ ।
































