बाजुराको लाम्पाटामा कुटपिट र लुटपाट प्रकरण: २३ जनाविरुद्ध मुद्दा दर्ता, प्रहरीद्वारा अनुसन्धान सुरु

Image
Nisarga Hospital

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको कुटपिट, लुटपाट र बन्धक बनाउने घटनामा २३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता भएको छ। जेठ ३ गते करिब तीन सय जनाको समूहले लाम्पाटा पुगेर स्थानीयमाथि आक्रमण गरेको आरोप छ।

CP Hospital Dhangadhi

आक्रमणका क्रममा वडा सदस्य पेमागारा गुरुङसहित पाँच जनालाई बन्धक बनाइएको र स्थानीयको घरमा लुटपाट गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताएका छन्। उनका अनुसार आक्रमणकारी समूहले वन्यजन्तु तथा जडिबुटी तस्करीसम्बन्धी कागज तयार गर्दै जेठ ८ भित्र गाउँ छोड्ने धम्कीसमेत दिएको थियो।

बन्धक बनाइएका व्यक्तिहरूलाई जेठ ६ सम्म नियन्त्रणमा राखिएको दाबी गरिएको छ। घटनामा संलग्न पहिचान भएका २३ जनाविरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेश शाहीले जानकारी दिएका छन्।

nawajiwan
Attariya Hospital

तर, प्रहरीले हालसम्म कसैलाई नियन्त्रणमा नलिएको भन्दै स्थानीय युवाहरूले आपत्ति जनाएका छन्। यता जिल्ला प्रहरी कार्यालय हुम्लाले घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ।

घटनाले बाजुरा–हुम्ला सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती बढाएको भन्दै स्थानीय तह र सरोकारवालाले तत्काल कडा कारबाहीको माग गरेका छन्।