प्रेस स्वतन्त्रतामा हस्तक्षेप भए प्रेस युनियनले सशक्त प्रतिरोध गर्ने

Image
Nisarga Hospital

काठमाडौं: नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ । युनियनको ३५औं स्थापना दिवस तथा विधानसभाबाट जारी नौबुँदे घोषणापत्रमार्फत लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।

CP Hospital Dhangadhi

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न विधानसभामा देशभरका शाखा तथा प्रदेश समितिका प्रतिनिधिको सहभागिता रहेको थियो । सभाले लोकतन्त्र, बहुलवाद, मानवअधिकार, संविधानवाद तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


सभाले पत्रकारमाथि हुने आक्रमण, धम्की, गिरफ्तारी, डिजिटल ह्यारेसमेन्ट तथा श्रम शोषणविरुद्ध सशक्त आवाज उठाउने निर्णय पनि गरेको छ । श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा स्वास्थ्य र दुर्घटना बीमाको सुनिश्चितताका लागि दबाबमूलक अभियान सञ्चालन गरिने युनियनले जनाएको छ ।

nawajiwan
Attariya Hospital

त्यस्तै, व्यावसायिक, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको प्रवद्र्धन गर्दै फेक न्युज, दुष्प्रचार र भ्रामक सामग्री नियन्त्रणमा विशेष पहल गरिने उल्लेख गरिएको छ । डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता, डेटा पत्रकारिता तथा कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार प्रयोगलाई संस्थागत गर्न पत्रकारलाई तालिम प्रदान गर्ने निर्णय पनि सभाले गरेको छ ।

युनियनले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । सञ्चारमाध्यमको आर्थिक स्थायित्व, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक सञ्चार संरचनाको संरक्षणका लागि आन्दोलन, संवाद र कानुनी पहल अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी स्थानीय तथा साना लगानीका सञ्चारमाध्यमलाई कर छुट, सहुलियत ऋण, प्रविधि सहयोग तथा लोककल्याणकारी विज्ञापनमा प्राथमिकता दिन राज्यसँग माग गरिएको छ । विधान संशोधनमार्फत नेपाल प्रेस युनियनलाई अझ सशक्त, समावेशी र समयानुकूल संगठनका रूपमा विकास गर्ने निर्णयसमेत सभाले गरेको छ ।