
नेपाली कथानक चलचित्र ‘कुम्भ’ यही जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रचारप्रसारका क्रममा कलाकार रोबर्ट सिंह बडेला धनगढी पुगेका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्र नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरिएको जानकारी दिए। उनले दर्शकलाई हलमै पुगेर फिल्म हेर्न आग्रह गर्दै ‘कुम्भ’मा आफ्नो भूमिकाप्रति विशेष अपेक्षा रहेको बताए।
अनुभवी अभिनेता बडेलाले फिल्मसँग काम गर्दा राम्रो अनुभव भएको उल्लेख गर्दै दर्शकले चलचित्र मन पराउने विश्वास व्यक्त गरे। एक्सन जनरामा निर्माण गरिएको यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ।


चलचित्रमा वरिष्ठ अभिनेता सुनील थापा, रोबर्ट सिंह बडेला, अशोक आर्यन, रोहित रुम्बा, सुशील पोखरेल, अफ्साना थापा र आरजे सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।
रणधीर श्रेष्ठद्वारा निर्देशित ‘कुम्भ’ नेपाल–भारतका विभिन्न लोकेसनमा छायांकन गरिएको हो। निर्माता पक्षले चलचित्रप्रति दर्शकको राम्रो प्रतिक्रिया आउने अपेक्षा गरेको छ।
































