
अत्तरियाः बाजुरा र हुम्लाका स्थानीयबीच रानीसैन–लाम्पाटा क्षेत्रमा उत्पन्न विवाद तथा श्रृंखलाबद्ध झडपपछि सरकारले बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको छ। घटनापछि क्षेत्रको सुरक्षा अवस्था संवेदनशील बनेकाले संयुक्त सुरक्षा टोली बुधबारदेखि परिचालन गरिएको हो।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठ्ठुबहादुर बोहराको कमान्डमा ७ जना गरी २८ सदस्यीय टोली लाम्पाटातर्फ खटिएको छ। उक्त टोलीले आगामी तीन महिनासम्म रानीसैन क्षेत्र केन्द्रित नियमित सुरक्षा गस्ती तथा निगरानी गर्नेछ।

जेठ महिनामा लाम्पाटा र रानीसैन क्षेत्रमा बाजुरा र हुम्लाका स्थानीयबीच पटक–पटक तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्थानीय, कर्मचारी तथा जनप्रतिनिधिमाथि कुटपिट, दुर्व्यवहार, आगजनी र लुटपाटका घटना सार्वजनिक भएका थिए। पर्यटन प्रवर्द्धनका लागि पुगेको टोलीमाथि समेत आक्रमण भएको घटनामा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितका व्यक्तिहरू प्रभावित भएका थिए। घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमागारा गुरुङलगायत स्थानीय र सुरक्षाकर्मी घाइते भएका थिए।

स्थानीयवासी तथा भोटे समुदायले आफूहरू असुरक्षित बनेको भन्दै स्थायी सुरक्षा व्यवस्था, निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। रानीसैन संघर्ष समितिले पनि विभिन्न विरोध कार्यक्रम जारी राख्दै विवादको दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ।































