
रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएका संगठित अपराधसम्बन्धी सबै अभियोग काठमाडौं जिल्ला अदालतले फिर्ता गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार अभियोग हटाउने निर्णय गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको निवेदनका आधारमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा संशोधन प्रक्रिया अघि बढाइएको थियो। यससँगै रूपन्देही, पर्सा र कास्की अदालतमा रहेका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि फिर्ता भइसकेका छन्।
तर, सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहेको छ। संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा दायर मुद्दाहरूमा लामिछानेसहित विभिन्न व्यक्तिहरूलाई अभियुक्त बनाइएको थियो।


समितिले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारी संस्थाबाट अनियमित रूपमा रकम प्रवाह भएको निष्कर्ष निकालेको थियो। सोही प्रतिवेदनका आधारमा लामो समय हिरासतमा रहेका लामिछाने पछि धरौटी बुझाएर रिहा भएका थिए।
यसै प्रकरणमा जीबी राई, कुमार रम्तेल, छविलाल जोशीलगायतका प्रतिवादीमाथिका संगठित अपराधसम्बन्धी अभियोग पनि फिर्ता भएको छ। जीबी राई भने अझै फरार रहेका छन्।
































