
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न सबै नेताहरूलाई अपिल गरेका छन्। महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरको दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

सभापति रवि लामिछाने ले पार्टी आज जुन स्थानमा पुगेको छ, त्यो सबै सदस्यहरूको निरन्तर साथ, विश्वास र मेहनतका कारण सम्भव भएको बताए। उनले भने, “म साथीहरूलाई स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह गर्न चाहन्छु, यस्तो प्रतिस्पर्धाबाट हामी नयाँ उचाइमा पुग्नेछौँ।”

लामिछानेले केन्द्रीय सदस्य, साधारण सदस्य वा अन्य जुनसुकै भूमिकामा रहे पनि सबैले जिम्मेवार भएर अघि बढ्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे। उनले पार्टीप्रति देखाइएको विश्वास र कठिन समयमा साथ दिएकोमा सबैलाई धन्यवाद पनि दिए।

उनले अनुभव र क्षमतालाई समाजले सकारात्मक रूपमा ग्रहण गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठनलाई अझ सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याए। पार्टीभित्र आपसी प्रतिस्पर्धा स्वस्थ र मर्यादित हुनुपर्नेमा उनले विशेष जोड दिएका छन्।
































