
मध्यपूर्वमा भएको युद्ध र इरानले हर्मुज जलडमरूमार्फत लगाएको नाकाबन्दीका कारण प्रभावित इराकको तेल उत्पादन तथा निर्यात क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। इराकी अधिकारीहरूले युद्धअघि रहेको उत्पादन स्तरमा पुग्न अझै एकदेखि दुई महिना लाग्ने बताएका छन्।

युद्धका कारण हर्मुज जलडमरू हुँदै हुने तेल ढुवानी अवरुद्ध भएपछि इराकसहित प्रमुख तेल उत्पादक राष्ट्रहरूले उत्पादन कटौती गर्नुपरेको थियो। यसले विश्व ऊर्जा बजारमा आपूर्ति संकट सिर्जना गर्दै अन्तर्राष्ट्रिय तेल बजारमा अस्थिरता बढाएको थियो।
यसैबीच, अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भएको समझदारीपछि हर्मुज जलडमरू पुनः सञ्चालनमा आएको छ। यद्यपि स्थायी शान्तिका लागि आवश्यक थप कूटनीतिक वार्ताहरू अझै जारी छन्।


इराकको इन्धन मन्त्रालयका प्रवक्ता सलीम फरहुदका अनुसार उत्पादन घटाइएका तेल क्षेत्रहरूमा पुनः क्षमता विस्तारको काम सुरु भइसकेको छ र आगामी एकदेखि दुई महिनाभित्र युद्धअघिको उत्पादन स्तर हासिल गर्ने लक्ष्य राखिएको छ। युद्धअघि इराकले दैनिक करिब ३५ लाख ब्यारेल तेल निर्यात गर्ने गरेको थियो, जसको अधिकांश हिस्सा हर्मुज जलडमरूमार्फत विश्व बजारमा पुग्थ्यो।
युद्धका क्रममा अधिकांश तेल क्षेत्र प्रभावित भएपछि इराकले टर्की र सिरियामार्फत सीमित मात्रामा तेल निर्यात गरिरहेको थियो। अहिले हर्मुज मार्ग पुनः खुलेसँगै निर्यात क्रमशः बढ्ने विश्वास इराकी अधिकारीहरूले व्यक्त गरेका छन्।
इराकका तेलमन्त्री बासेम खोदैरले सहज समुद्री मार्ग सञ्चालनसँगै निर्यात निरन्तर वृद्धि हुने बताएका छन्। इराकको अर्थतन्त्र मुख्यतः तेल निर्यातमा निर्भर रहेको छ, जहाँ कुल सरकारी राजस्वको करिब ९० प्रतिशत हिस्सा तेलबाट प्राप्त हुने भएकाले उत्पादन र निर्यातको पुनःस्थापना देशका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
































