
बाजुरामा आज बिहान भएको बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसमा ३५ जना सवार रहेका थिए।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको हो। दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीले उद्धार कार्य गरेका थिए।

घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई थप उपचारका लागि अछामको बयलपाटा अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।

दुर्घटनापछि सडक केही समय अवरुद्ध भए पनि अहिले सञ्चालनमा आएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।































