
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय आफ्नो समर्थित समूह हिजबुल्लाहका गतिविधि नियन्त्रण गर्न कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानले हिजबुल्लाहलाई नियन्त्रणमा नल्याए अमेरिकाले यसअघि भन्दा अझ कडा र व्यापक कारबाही गर्न सक्ने बताएका हुन्।

यसैबीच, स्विट्जरल्यान्डको बुर्गेनस्टकमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता सुरु भएको छ। वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पछिल्ला केही घण्टामा सकारात्मक प्रगति भएको दाबी गर्दै दुवै देशबीच संवादले आशा जगाएको बताएका छन्।
भेन्सका अनुसार अमेरिका र इरानले सहकार्यमार्फत पश्चिम एसियामा शान्ति, स्थिरता र समृद्धि प्रवर्द्धन गर्न सक्ने सम्भावना रहेको छ। उनले राष्ट्रपति ट्रम्पले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने चाहना राखेको उल्लेख गर्दै आगामी १० वर्षभित्र पश्चिम एसियाको अवस्थालाई सकारात्मक रूपमा परिवर्तन गर्ने लक्ष्य रहेको बताए।


पाकिस्तान र कतारको मध्यस्थतामा भइरहेको वार्ताको मुख्य उद्देश्य बढ्दो क्षेत्रीय तनाव कम गर्दै दीर्घकालीन शान्तिको आधार तयार गर्नु रहेको बताइएको छ।
वर्षौंदेखि तनावपूर्ण सम्बन्धमा रहेका अमेरिका र इरानबीच सुरु भएको यो वार्तालाई मध्यपूर्वमा स्थायित्व कायम गर्ने महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ। यद्यपि, ट्रम्पको चेतावनी र वार्ता एकैसाथ अघि बढिरहेका कारण आगामी दिनमा दुवै देशको सम्बन्ध कुन दिशातर्फ अघि बढ्छ भन्ने चासो बढेको छ।
































