
भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। भवनहरू भत्किनुका साथै नागरिकहरू त्रसित बनेपछि सरकारले देशभर आपत्कालीन अवस्था घोषणा गरेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेकाले सञ्चालन बन्द गरिएको छ।

भूकम्प गएको पाँच घण्टाभन्दा बढी समय बितिसक्दा पनि हताहतको आधिकारिक विवरण सार्वजनिक भएको छैन। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले भने मृतक संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यूएसजीएसको ‘पेजर’ प्रणालीले भूकम्पको तीव्रता, जनघनत्व, भवनको अवस्था र ऐतिहासिक तथ्यांकका आधारमा सम्भावित क्षतिको आकलन गर्ने गर्दछ।

भेनेजुएलाका गृहमन्त्री डियोस्दादो काबेलोले धेरै भवन भत्किएको पुष्टि गर्दै नागरिकलाई खुला स्थानमा बस्न र भवन तथा ठूला संरचनाबाट टाढा रहन आग्रह गरेका छन्। चाकाओ नगरपालिकाका मेयर गुस्ताभो डुकेका अनुसार हालसम्म १८ जनाको जीवित उद्धार गरिएको छ भने कम्तीमा चार भवन पूर्ण रूपमा भत्किएका छन्। ५०० भन्दा बढी उद्धारकर्मी खोज तथा राहत कार्यमा खटिएका छन्।

भूकम्पका धक्का ब्राजिल र कोलम्बियाका केही क्षेत्रमा समेत महसुस गरिएको छ। यसबीच इक्वेडर, पनामा र अमेरिकाले भेनेजुएलालाई मानवीय सहायता, खोज तथा उद्धार टोली तथा चिकित्सकीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। सरकारले वास्तविक क्षतिको मूल्याङ्कन जारी राखेको छ भने पराकम्पको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
































