
भेनेजुएलामा बुधबार साँझ आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० जना घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएकी छन्।

देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, उद्धारकर्मी तथा आपत्कालीन टोलीहरू परिचालन गरी राहत र उद्धार कार्य तीव्र पारिएको छ।
राष्ट्रपति रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ। उनले उक्त क्षेत्र गम्भीर मानवीय संकटबाट गुज्रिरहेको बताउँदै धेरै भवनहरू ध्वस्त भएको र भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जानकारी दिइन्।


उनले ला गुआइरालाई विपद् प्रभावित क्षेत्र घोषणा गरिएको उल्लेख गर्दै हाल जीवन रक्षा सरकारको मुख्य प्राथमिकता रहेको बताइन्। कठिन परिस्थितिका बीच उद्धारकर्मीहरू जोखिम मोलेर नागरिकको ज्यान बचाउने प्रयासमा जुटिरहेका छन्।
सरकारले प्रभावित क्षेत्रमा उपचार, खाद्यान्न तथा अन्य राहत सामग्रीको व्यवस्था तीव्र बनाएको जनाएको छ। साथै भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य पनि जारी रहेको अधिकारीहरूले बताएका छन्। भूकम्पपछि नागरिकहरूमा त्रास फैलिएको छ भने पराकम्पको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
































