
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा पुगेको छ। केन्द्रीय सदस्य निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै आज पार्टीका विभिन्न पदाधिकारी पदका लागि मतदान हुँदैछ। यसले पार्टीको आगामी नेतृत्वको स्वरूप तय गर्ने भएकाले निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।

पार्टी विधानअनुसार १९ पदाधिकारी रहने व्यवस्था भए पनि यसपटक ६ पदका लागि मात्र प्रत्यक्ष निर्वाचन हुँदैछ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब एक खुला उपसभापति, एक महिला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सह–महामन्त्री र एक महिला सह–महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ। बाँकी पदाधिकारी भने समावेशी सिद्धान्तका आधारमा पछि मनोनयन गरिने व्यवस्था छ।

खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। महिला उपसभापतिका लागि सोबिता गौतम, इन्दिरा राना मगर र डा. तोसिमा कार्की चुनावी मैदानमा छन्।

त्यस्तै, खुला महामन्त्री पदका लागि शिशिर खनाल, मनिष झा, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, रञ्जु दर्शना, सागर ढकाल र गणेश पराजुलीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सह–महामन्त्री पदका लागि हरि ढकाल, पुकार बम, असिम शाह, रिमा विश्वकर्मा र ज्वाला संग्रौलालगायत युवा नेताहरूले उम्मेदवारी दिएका छन्। पदाधिकारी निर्वाचनको नतिजाले रास्वपाको भावी नेतृत्व र संगठनात्मक दिशालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ।
































