
सिरहाको गोलबजारमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको ज्यान गएको हो।

मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन्। रौतहटको जिगरवा स्थायी घर भएका उनीहरू परिवारसहित गोलबजार–७ मा डेरा गरी बस्दै आएका थिए। कवाडी सङ्कलन गरेर जीविकोपार्जन गर्ने परिवारका यी बालबालिका आइतबार दिउँसो खेल्न घरबाट निस्किएका थिए।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। तर चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
































