
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका नेपाली भाषी समुदायबीच विभिन्न साहित्यिक, सांस्कृतिक र स्मरण कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी जनसाधारणसम्म पुर्याएर नेपाली भाषा र साहित्यको विकासमा उनले ऐतिहासिक योगदान दिएका छन्। आज पनि उनकाे रामायण घरघरमा श्रद्धापूर्वक पाठ गरिन्छ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त सामान्य घाँसीको प्रेरणाबाट लोकहितमा सिर्जना गर्न उत्प्रेरित भएका थिए। ‘रामायण’सँगै ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ उनका चर्चित कृतिहरू हुन्। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत भावनात्मक रूपमा एकताबद्ध बनाएको मानिन्छ।

जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद्लगायत संस्थाले माल्यार्पण, प्रभातफेरी, रामायण वाचन तथा साहित्यिक कार्यक्रम आयोजना गरेका छन्। भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न स्थानमा पनि भानु जयन्ती विशेष रूपमा मनाइँदैछ।

































