
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। यस हारसँगै शीर्ष चारमा रहेर सिधै विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने नेपालको सम्भावना थप कमजोर बनेको छ।

नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै समेटियो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रनको योगदान दिए।
नेपाललाई सानो स्कोरमा रोक्न नामिबियाका जेजे स्मिथ चम्किए। उनले ९.५ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। बर्नार्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले समान २–२ विकेट हात पारे।


१५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३७.४ ओभरमा मात्र दुई विकेट गुमाएर सहज जित दर्ता गर्यो। जान फ्राइलिंक ७८ रनमा अविजित रहे भने माइकल भान लिंगनले ५१ रन बनाए। फ्राइलिंक र लिंगनबीच दोस्रो विकेटका लागि ८७ रनको साझेदारी भएको थियो, जसले नेपालको जितको आशा समाप्त गरिदियो।
यस जितसँगै नामिबिया २९ खेलबाट २४ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। नेपाल पनि समान २४ अंकसहित पाँचौँ स्थानमा रहे पनि कमजोर नेट रनरेट र बाँकी समीकरणका कारण शीर्ष चारमा पुग्ने यात्रा निकै चुनौतीपूर्ण बनेको छ।































