
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले मौसम पूर्णरूपमा प्रभावित बनेको छ। हाल देशभर सामान्यदेखि घना बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा देशका विभिन्न पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ। साथै, कोशी, मधेस र बागमती प्रदेशका तराईका केही स्थानमा पनि वर्षा जारी रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेशका तराईका केही स्थान, बागमती, गण्डकी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा आकस्मिक जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

































