
आज चौवालीसौँ बीपी स्मृति दिवस। नेपाली लोकतन्त्रका महान् योद्धा, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका अथक अभियन्ता विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई श्रद्धापूर्वक सम्झने दिन। यो दिन केवल एउटा औपचारिक कार्यक्रम गर्ने दिन होइन, उहाँले देखाएको बाटोमा हिँड्ने प्रण गर्ने दिन हो। तर विडम्बना, आजको दिनले श्रद्धाभन्दा बढी पीडा दिएको छ। आज नेपाली कांग्रेसले बीपीको स्मृति दिवस दुई ठाउँमा मनाएको दृश्य देख्दा मन साँच्चै दुखेको छ। आँखाले देखेको यो दृश्यले एउटा प्रश्न बारम्बार मनमा उठाइरहेको छ—के यही हो बीपीले देख्न चाहेको नेपाली कांग्रेस?

बीपीले आफ्नो सम्पूर्ण जीवन जेल, निर्वासन, संघर्ष र बलिदानमा बिताउनुभयो। उहाँले सत्ता होइन, सिद्धान्त रोज्नुभयो। उहाँले पद होइन, जनता रोज्नुभयो। उहाँले विभाजन होइन, राष्ट्रिय एकताको बाटो रोज्नुभयो। तर आज उहाँकै नामबाट चिनिने पार्टी उहाँकै स्मृति दिवसमा दुई भागमा उभिएको देख्दा मनमा गहिरो पीडा उत्पन्न भएको छ। बीपीको तस्वीरमा फूल चढाउनु सजिलो छ, तर उहाँको विचारलाई हृदयमा राखेर व्यवहार गर्नु कठिन छ। आज फूल चढाइयो, भाषण गरियो, श्रद्धाञ्जली अर्पण गरियो। तर यदि उहाँकै नाममा अलग–अलग मञ्च बनाएर कार्यक्रम गर्नुपर्ने अवस्था छ भने, त्यो श्रद्धाञ्जली होइन, आत्मसमीक्षाको विषय हो।
आज म मात्र होइन, हजारौँ नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक र लोकतन्त्रप्रेमी नेपालीहरूको मन रोएको छ। उनीहरूले सधैँ नेपाली कांग्रेसलाई बीपीको विचार बोकेको पार्टीका रूपमा विश्वास गरे। तर आजको दृश्यले उनीहरूको विश्वासलाई नै चोट पुर्याएको छ। कार्यकर्ताको मनमा प्रश्न छ, जनताको मनमा निराशा छ, र इतिहास मौन भएर सबै हेरिरहेको छ।

बीपीले भन्नुभएको थियो—राजनीति जनताको सेवा गर्ने माध्यम हो। तर आज राजनीति सेवा भन्दा पनि शक्ति प्रदर्शन, गुटबन्दी र व्यक्तिगत अहंकारको प्रतिस्पर्धाजस्तो देखिन थालेको छ। यदि बीपी आज जीवित हुनुहुन्थ्यो भने, सायद उहाँको मन सबैभन्दा धेरै दुख्ने दिन यही हुने थियो। बीपी दिवस कुनै नेताको शक्ति प्रदर्शन गर्ने दिन होइन। यो आत्मचिन्तन गर्ने दिन हो। यो आफूलाई सोध्ने दिन हो—हामी साँच्चै बीपीको बाटोमा छौँ कि केवल उहाँको नाम प्रयोग गरिरहेका छौँ?
आज दुईवटा कार्यक्रम भए, तर बीपी एउटै हुनुहुन्थ्यो। उहाँको विचार एउटै थियो। उहाँको सपना एउटै थियो—एकताबद्ध, लोकतान्त्रिक र सिद्धान्तनिष्ठ नेपाली कांग्रेस। त्यसैले दुई ठाउँमा मनाइएको बीपी दिवसले कार्यक्रम त सम्पन्न गर्यो होला, तर लाखौँ समर्थकको मनमा एउटा गहिरो घाउ पनि छोडेर गयो।

\
आजको दिन हामी सबैले आफूलाई ऐनामा हेर्नुपर्ने बेला आएको छ। बीपीलाई श्रद्धाञ्जली दिनु भनेको केवल माल्यार्पण गर्नु होइन, उहाँले देखाएको नैतिकता, त्याग, इमानदारी र एकताको बाटोमा हिँड्नु हो। यदि त्यो गर्न सकिएन भने हरेक वर्षको बीपी दिवस केवल एउटा औपचारिकता बनेर सीमित हुनेछ l म नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकसँग विनम्र आग्रह गर्न चाहन्छु—बीपीको नाममा होइन, बीपीको विचारमा एक हुनुहोस्। गुटभन्दा माथि उठ्नुहोस्। पदभन्दा माथि सिद्धान्तलाई राख्नुहोस्। व्यक्तिगत स्वार्थभन्दा माथि संगठन र देशलाई राख्नुहोस्। यही नै बीपीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।
बीपी, आज तपाईंलाई सम्झँदा मन गर्वले भन्दा बढी पीडाले भरिएको छ। तर अझै विश्वास छ—तपाईंले रोपेको लोकतन्त्रको बिरुवा एक दिन फेरि एकता, नैतिकता र सिद्धान्तको फूलले ढकमक्क फुल्नेछ। त्यो दिन नै तपाईंप्रतिको सबैभन्दा ठूलो सम्मान हुनेछ।
भीम बहादुर खड्का
त्रिभुवन विश्वविद्यालय
केन्द्रीय क्याम्पस
































