
कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर दुई लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले वृद्धि हुँदै चार हजार ४१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला पाँच हजार ८०० रुपैयाँले घटेर दुई लाख ८५ हजार ५०० रुपैयाँमा झरेको थियो भने चाँदीको मूल्य १५५ रुपैयाँले घटेर चार हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार उल्लेख्य गिरावट देखिएको सुन–चाँदीको मूल्य आइतबार पुनः उकालो लागेसँगै बजारमा नयाँ मूल्य कायम भएको हो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ। कारोबार गर्ने तथा लगानीकर्ताले मूल्यमा हुने यस्तो उतारचढावलाई नजिकबाट नियालिरहेका छन्।































