
कैलाली र कञ्चनपुरका केरा उत्पादक किसान तथा व्यवसायीहरूले बगानबाट बिक्री हुने मूल्य र बजारमा उपभोक्ताले तिर्नुपर्ने मूल्यबीच अस्वाभाविक अन्तर देखिएको भन्दै सरकारले प्रभावकारी बजार अनुगमन गर्नुपर्ने माग गरेका छन्।

केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरले संयुक्त पत्रकार सम्मेलन गर्दै हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन ६० देखि ६५ रुपैयाँमा बिक्री भइरहेको केरा बजारमा अत्यधिक मूल्यमा बिक्री भइरहेको बताएका हुन्। बिचौलियाले कृत्रिम अभाव सिर्जना गरी अनुचित मूल्यवृद्धि गरिरहेको उनीहरूको आरोप छ।


संघीय सरकारले भारतबाट केराको बिरुवा तथा फल आयातमा रोक लगाएको निर्णयको स्वागत गर्दै सङ्घले अब कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएको छ। किसान र उपभोक्ता दुवैको हित सुरक्षित हुने गरी बजार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
सङ्घले बगान बिक्रीका लागि सिफारिस मूल्यसमेत सार्वजनिक गरेको छ। भदौदेखि असोज मसान्तसम्म प्रतिदर्जन ५५–६५ रुपैयाँ, कात्तिकदेखि मङ्सिरसम्म ४५–५० रुपैयाँ तथा पुसदेखि माघसम्म ३०–३५ रुपैयाँ कायम गरिएको छ। फागुनदेखि साउनसम्मको मूल्य उत्पादन, माग र बजार अवस्थाका आधारमा पछि निर्धारण गरिने जनाइएको छ।
केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारुले किसान, व्यापारी र सरोकारवालालाई सिफारिस मूल्य कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे। सङ्घ कञ्चनपुरका अध्यक्ष सुरेन्द्रकुमार चौधरीका अनुसार सुदूरपश्चिममा करिब २ हजार ४ सय हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ, जसबाट वार्षिक करिब ७२ हजार ४ सय ४९ मेट्रिक टन उत्पादन हुने गरेको छ। कैलाली र कञ्चनपुर प्रदेशका प्रमुख केरा उत्पादन क्षेत्रका रूपमा परिचित छन्।































