
धनगढी: कैलालीको कैलारी गाउँपालिका–७ स्थित मोहना नदीमाथि बनेको नेपाल–भारत जोड्ने हौसलपुर झोलुङ्गे पुल कटानको जोखिममा परेको छ। पुलको पश्चिमतर्फको पिल्लरतर्फ नदीले कटान गर्न थालेपछि स्थानीय र जनप्रतिनिधिले तत्काल तटबन्ध निर्माण गर्न सरकारसँग माग गरेका छन्।

स्थानीयका अनुसार गत वर्षदेखि सुरु भएको कटान यस वर्ष थप बढेको छ। स्थानीय दीपेन्द्र चौधरीले ठूलो बाढी नआएकाले मात्रै पुल जोगिएको भन्दै बेलैमा संरक्षणको काम नगरे पुलमा गम्भीर क्षति पुग्न सक्ने चेतावनी दिए।
२०७९ सालमा करिब ७५ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त पुलले हौसलपुरसहित सीमावर्ती गाउँका नागरिकलाई सहज आवतजावतको सुविधा दिएको छ। पुल निर्माणअघि स्थानीय डुङ्गाको भरमा नदी पार गर्न बाध्य थिए भने वर्षायाममा आवतजावत नै ठप्प हुने गरेको थियो।


वडा सदस्य टुनिराम चौधरीले पुल जोगाउन तटबन्ध आवश्यक भए पनि वडाको बजेटले सम्भव नभएकाले अन्य स्रोतबाट सहयोग खोजिरहेको बताए। स्थानीय जुगराम चौधरीले पनि वर्षौँको प्रतीक्षापछि बनेको पुल जोगाउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरे।
यो पुलबाट भुइँयाफाँटा, रामपुर, तिघरी, वसन्ता, रतनपुरलगायत नेपाली गाउँका साथै भारतका सीमावर्ती बस्तीका नागरिकसमेत दैनिक आवतजावत गर्दै आएका छन्। पुल जोखिममा परेपछि स्थानीयमा चिन्ता बढेको छ।






























