
धनगढी: मधेश प्रदेशमा देखिएको सामाजिक तथा धार्मिक तनावको सम्भावित प्रभाव सुदूरपश्चिममा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन्। सम्भावित प्रदर्शन, झडप तथा अन्य सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा तयारीलाई सुदृढ बनाइएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर बिष्टका अनुसार हाल प्रदेशको सुरक्षा अवस्था सामान्य रहे पनि कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्रलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ। नियमित सूचना संकलन, संवेदनशील क्षेत्रको निगरानी तथा सीमा नाकामा जाँचलाई कडाइ गरिएको उनले बताए।
केही दिनअघि मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै सम्भावित सुरक्षा चुनौतीसँगै मनसुनजन्य विपद् व्यवस्थापनका लागि पनि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएका थिए। उनले प्रभावकारी सुरक्षा व्यवस्था, उद्धार तथा राहतका सबै संयन्त्रलाई आवश्यक पूर्वतयारीसहित परिचालन गर्न आग्रह गरेका छन्।




छलफलमा प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल, सुदूरपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी किरण केसी, उपरथी पवन खत्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रदेश प्रहरी प्रमुख सानुराम भट्टराई तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति दिग्बिजय सुवेदीलगायत सुरक्षा अधिकारीको सहभागिता रहेको थियो।


































