जलवायु परिवर्तनको असरः चुरे काटेर भित्री मधेस छिर्न थाले हात्ती, डडेलधुराका किसानमा बढ्यो त्रास

Image
Nisarga Hospital

डडेल्धुराः डडेलधुराको तराई क्षेत्रमा सीमित रहेको हात्तीको आतंक पछिल्ला तीन वर्षयता चुरे पार गर्दै भित्री मधेससम्म फैलिन थालेको छ। परशुराम नगरपालिका–६ को पुँणा र जोगबुडा क्षेत्रमा धान तथा गहुँ पाक्ने समयमा हात्ती देखिन थालेपछि स्थानीय किसान चिन्तित बनेका छन्।

CP Hospital Dhangadhi

स्थानीयका अनुसार यसअघि दशकौँसम्म हात्ती नदेखिएको क्षेत्रमा पछिल्ला दुई–तीन वर्षयता नियमित रूपमा हात्ती आउन थालेको हो। ३६ वर्षीय टेकबहादुर धामीले आफ्नो क्षेत्रमा पहिलोपटक हात्ती देखेको र आफ्नै खेतको बालीसमेत नष्ट गरेको बताए। उनका अनुसार चैत–वैशाखमा गहुँ र असोज–कात्तिकमा धान पाक्ने समयमा हात्ती वर्षमा दुईपटकसम्म देखिन थालेको छ।

पुँणाका रमेश पनेरुका अनुसार भारतबाट आउने एउटा भाले हात्ती २०८२ सालदेखि पटक–पटक नेपालतर्फ पस्न थालेको छ। महाकाली नदी तरेर परशुराम घाट, रातामाटी घाट र सिमलझाला क्षेत्र हुँदै हात्ती नेपाल प्रवेश गर्ने गरेको स्थानीयको भनाइ छ।

nawajiwan
Attariya Hospital

भारतको चम्पावत जिल्लामा पर्ने जरायुखाल नेसनल पार्क आसपासबाट हात्ती महाकालीसम्म आउने र गर्मी छल्न नदीमा नुहाउने क्रममा नेपालतर्फ पस्ने गरेको स्थानीय बताउँछन्। नेपाल र भारत दुवैतर्फ सडक तथा महाकाली करिडोर खुलेपछि हात्तीलाई आवतजावत गर्न सहज भएको उनीहरूको अनुमान छ।

पछिल्ला दुई वर्षमा कृष्ण राना, टेकबहादुर धामी, कर्णबहादुर धामी, रमेश पनेरुलगायत स्थानीयको अन्नबाली र केराखेतीमा क्षति पुगेको छ। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी र जंगलमा आहाराको उपलब्धताले हात्तीको आवागमन बढेको स्थानीयको बुझाइ छ।

हात्तीबाट भएको क्षतिको क्षतिपूर्तिका लागि वडामा वर्षेनी २०–३० निवेदन आउने गरेका छन्। तर डिभिजन वन कार्यालयसम्म पुग्न करिब १०० किलोमिटर यात्रा गर्नुपर्ने र राहत रकमभन्दा यात्रा खर्च बढी हुने भएकाले अधिकांश पीडितले क्षतिपूर्ति प्रक्रियासमेत अघि बढाउन नसकेको वडा कार्यालयले जनाएको छ।