अत्तरियाको दुर्गालक्ष्मी माविमा स्मार्ट ई–हाजिरी, गेटमै हाजिरीसँगै अभिभावकलाई सन्देश

Image
Nisarga Hospital

अत्तरियाः अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा विद्यार्थीको उपस्थितिलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन स्मार्ट ई–हाजिरी प्रणाली जडान गरिएको छ। कक्षा ६ देखि १२ सम्मका करिब २६ सय विद्यार्थीका लागि क्युआर कोडसहितको परिचयपत्र उपलब्ध गराइएको विद्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

विद्यार्थीले विद्यालय प्रवेश गर्ने क्रममा ई–हाजिरी मेसिनमा कार्ड देखाएपछि गेटमै हाजिरी हुने र त्यसको जानकारी तत्काल अभिभावकको मोबाइलमा सन्देशमार्फत पुग्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले बताए। विद्यार्थी विद्यालयबाट बाहिरिँदा पनि अभिभावकलाई सन्देश जाने व्यवस्था छ।

Attariya Hospital

प्रधानाध्यापक वीरसिंह महताका अनुसार विद्यार्थी घरबाट विद्यालयका लागि हिँडे पनि बाटोमै हराउने वा विद्यालय नपुग्ने गुनासो आउने गरेको थियो। नयाँ प्रणालीले विद्यार्थी विद्यालय पुगेको वा बाहिरिएको जानकारी अभिभावकलाई तत्काल दिने भएकाले यस्तो समस्या न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।

nawajiwan

प्रणालीमार्फत कक्षा शिक्षकले मोबाइलबाटै विद्यार्थीको ई–हाजिरी विवरण हेर्न सक्नेछन्। ई–हाजिरी छुटेका विद्यार्थीको हाजिरी शिक्षकले कक्षाकोठाबाटै लगाउन सक्ने व्यवस्था पनि गरिएको छ। यसले दैनिक रजिस्टरमा हाजिरी लगाउने समय र झन्झट घटाउने शिक्षक तपराज ओझाले बताए।

यसै प्रणालीअन्तर्गत अभिभावकले ‘पाठशाला’ मोबाइल एपमार्फत विद्यार्थीको शैक्षिक गतिविधि, होमवर्क, प्रोजेक्ट असाइनमेन्ट तथा विद्यालयका सूचनासमेत हेर्न सक्नेछन्। प्रणाली विगत पाँच–छ दिनदेखि परीक्षणका रूपमा सञ्चालनमा रहेको र छिट्टै ई–हाजिरीलाई नै आधिकारिक उपस्थितिका रूपमा लागू गरिने विद्यालयले जनाएको छ।