
नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो। मंगलबार भने एकैदिन ठूलो वृद्धि भएको हो।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य प्रतितोला १ सय १० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमयदर तथा विश्व बजारमा देखिने आर्थिक गतिविधिले नेपालमा सुनको मूल्य प्रभावित हुने गर्छ।






























