
अत्तरियाः नेपालीका प्रमुख चाडपर्व नजिकिँदै गर्दा अत्तरिया – धनगढीको बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। साउनको तेस्रो सातासम्म प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको चिनी भदौको पहिलो सातासम्म आइपुग्दा १३५ रुपैयाँ पुगेको हो। छोटो समयमै किलोमै ३५ रुपैयाँ मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन्।

खुद्रा व्यवसायीहरूले भारतबाट चिनी आयात नभएको मौका छोपेर निजी उद्योगी तथा सप्लायर्सले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार साउनमा आपूर्ति घट्दा बजारमा चिनी पाउनै मुस्किल भएको थियो। अहिले आपूर्ति सहज भए पनि मूल्य भने घट्नुको सट्टा झन् बढेको व्यवसायीहरूको भनाइ छ।
किराना व्यवसायी संघ कैलालीका अध्यक्ष देवराज पाण्डेयले यसपटक चिनीको मूल्य विगतको तुलनामा अस्वाभाविक रूपमा बढेको बताए। उनका अनुसार अघिल्ला वर्षमा मूल्य बढ्दा पनि प्रतिकिलो १२० रुपैयाँभन्दा माथि पुगेको थिएन। अहिलेको अवस्था कायम रहे दशैंसम्म चिनीको मूल्य अझै बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ।


भन्सार कार्यालय कैलालीका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार भारतबाट पछिल्लो समय चिनी आयात भएको छैन। उनका अनुसार औपचारिक प्रक्रियाबाट चिनी आयात गर्न भने रोक लगाइएको छैन।
आयातको औपचारिक बाटो खुला हुँदाहुँदै बजारमा चिनी नआउनु र मूल्य नियन्त्रण हुन नसक्दा उपभोक्ता थप मारमा परेका छन्। चाडपर्वमा खपत बढ्ने समय नजिकिँदै गर्दा पनि सम्बन्धित सरकारी निकायले प्रभावकारी बजार अनुगमन नगरेको स्थानीयको गुनासो छ। उनीहरूले मूल्य नियन्त्रणका लागि तत्काल बजार अनुगमन र आवश्यक कदम चाल्न माग गरेका छन्।































