
नियमित दैनिकी जस्तै आज पनि विद्यालयको प्राङ्गणमा बिहानी प्रार्थना सकियो। देशमा ( नेपाल- तिब्बत सिमा भएर)हिजो भर्खरै आएको भयानक र त्रासदीपूर्ण बाढी जस्तो प्राकृतिक विपत्तिले सबैको मन भारी बनाएको थियो। प्रार्थना लगत्तै दिवङ्गत आत्माहरूको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरियो। वातावरणमा एउटा गहिरो सन्नाटा र शोक व्याप्त थियो।

मौन धारण सकिएपछि म पहिलो घण्टी पढाउन कक्षा ६ को कोठाभित्र प्रवेश गरेँ। देश दुखेका बेला ती कलिला मस्तिष्कहरूमा के चल्दै होला भन्ने कुराले मेरो मनमा पनि कौतुहलता र केही उदासीपन थियो। कक्षा कोठाको कोलाहललाई शान्त पार्दै मैले विद्यार्थीहरूलाई पुनः एक मिनेट मौन धारण गराएँ। रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका अन्य क्षतिग्रस्त क्षेत्रमा बाढी र पहिरोले उजाडिएका गाउँबस्ती, आफन्त गुमाएर रोइरहेका निर्दोष आँखाहरू मेरा मानसपटलमा घुमिरहेका थिए।
मौन धारण सकेर जब म कक्षाको नियमित कार्यक्रम तिर अघि बढ्न खोज्दै थिएँ, अचानक एउटा कुनामा बसेका विद्यार्थी जुरुक्क उठे।

उनका आँखामा एउटा गम्भीरता र ओठमा केही सोध्ने आतुरता थियो। उनले निकै शालीन स्वरमा सोधे, “सर… एउटा कुरा भनूँ?”
मैले उनको अनुहारको भाव बुझ्ने प्रयास गर्दै स्नेहपूर्वक भनेँ, “के कुरा हो बाबु, रञ्जित? भन्नुस् न।”
उनले जे भने, त्यसले मलाई एकै निमेषमा स्तब्ध, भावुक र अत्यन्तै गौरवान्वित बनायो। ती साना बालकले भने, “सर, हाम्रो देशमा कस्तो दुःखद र भयानक घटना भयो है! कति धेरै मान्छेहरू परिवारविहीन भए, कयौँले ज्यान गुमाए। टीभी र मोबाइलमा त्यो दृश्य देख्दा मनै रुन्छ सर।”
कलिलो उमेरमा देश र जनताको यो दुःख बुझ्न सक्ने उनको भावनाले मेरो मन छोयो। मैले सम्झाउने शैलीमा भनेँ, “हो बाबु, तिमीले ठीक भन्यौ। प्राकृतिक विपत्ति यसरी नै एक्कासि आएर मान्छेको हाँसिरहेको जीवन क्षणभरमै उजाड बनाइदिन्छ। उक्त बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूकै सम्झना र सम्मानमा त हामीले भर्खरै मौन धारण गर्यौँ नि, होइन र?”
“हो सर, त्यो त मैले बुझेँ,” उनले आफ्नो गोजीमा हात हाल्दै अगाडि थपे, “तर हिजो तपाईंले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा केही रकम सहयोग गर्नुभएको कुरा हामीले थाहा पायौँ नि सर! के… हामीले पनि साथीभाइहरू मिलेर थोरै-थोरै पैसा सङ्कलन गरी सहयोग गर्न मिल्दैन र? हामी पनि त नेपाली हौँ नि!”
आहा! ती कलिला ओठबाट निस्किएका ती शब्दहरू शब्द मात्र थिएनन्, ती त मानवता र देशभक्तिका जीवन्त दृष्टान्त थिए। जहाँ ठूला-ठूला मानिसहरू आफ्नै स्वार्थमा लिप्त हुन्छन्, त्यहाँ कक्षा ६ मा पढ्ने ससाना नानीबाबुहरूले देशको घाउमा मलम लगाउने सोचिरहेका थिए। मेरो छाती गर्वले चौडा भयो, आँखामा खुसीका आँसु टिलपिलाए। मैले गद्गद हुँदै भनेँ, “कस्तो राम्रो विचार बाबु! किन नमिल्नु, अवश्य मिल्छ।”

त्यसपछि कक्षा कोठामा जे भयो, त्यो कुनै उत्सवभन्दा कम थिएन। सबै साथीहरूले उनको कुरामा हो मा हो मिलाउदै हामी सहमत छौं भने।टिफिनको घण्टी बज्दा अरू दिन खेल्न र खाजा खान हतारिने ती ससाना हातहरू आज कसैले ५, कसैले १०, कसैले १५, २० त कसैले ३०, ४०,…..रुपैयाँ निकाल्दै एउटै ठाउँमा जम्मा गर्न थाले। उनीहरूले आफ्नो खाजा खर्च कटाएर, कतिले त आफ्ना साथिहरु सँग पैसा सापटी मागेर टिफिनको समयभित्रै ५०० रुपैयाँ सङ्कलन गरे।
उनीहरू त्यो पैसा लिएर मतिर आए र निकै गौरवका साथ भने, “सर, यो हाम्रो तर्फबाट सानो सहयोग। यसलाई त्यो प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरिदिनुस् न है!”
नानीबाबुहरूको यो महान् र निष्कपट सोच देख्दा मलाई आफ्नो शिक्षक हुनुको धर्म र कर्तव्य पूरा भएको महसुस भयो। किताबका पाना पढाएर मात्र असल नागरिक बन्दैनन्, असल संस्कारले बन्छन् भन्ने कुरा आज मेरा विद्यार्थीले प्रमाणित गरिदिएका थिए। उनीहरू मेरा विद्यार्थी हुन् भन्न पाउँदा मलाई स्वर्ग जिते जत्तिकै गर्व महसुस भयो।
ती मासूम मनहरूको उत्साह र यो पवित्र कार्यप्रति आदरभाव प्रकट गर्दै मैले पनि आफ्नो तर्फबाट थप ५०० रुपैयाँ त्यसमा थपिदिएँ। कुल १,००० रुपैयाँ बनाएर मैले उक्त कोषमा उनीहरूको भावनासहित जम्मा गरिदिएँ।
रकम सानो होला, तर ती बाल-हृदयहरूमा पलाएको यो मानवता र देशप्रेमको मूल्य अमूल्य थियो।
*विपत्तिका बेला आमालाई एक्लो नछोडौँ। आफ्नो क्षमता अनुसार नैतिक, भौतिक, भावनात्मक र आर्थिक सहयोग गरी नेपाल आमाको घाउमा मलम लगाऔँ। देशलाई दुख्दा हामी सबै जुटौँ। *🇳🇵❤️
कमल बिष्ट ,
शिक्षक श्री माध्यमिक विद्यालय महेन्द्रझ्याडी हरिहरपुरगढी ४ सिन्धुली































