
रसुवामा आएको भीषण बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

समाजले बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम जम्मा गरेको जनाएको छ।
समाजका केन्द्रीय महासचिव दिनेश खड्का ‘खप्तडी’ का अनुसार गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोपछि समाजले आपत्कालीन बैठक बोलाएर पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।


सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले विपद्को यस कठिन घडीमा प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको जनाएको छ।
समाजले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग र मानवीय सेवाको भावनालाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।































