बाजुरामा बाढीपहिरोको वितण्डा, साँफे–मार्तडी सडक अवरुद्ध, ९६ बस्ती उच्च जोखिममा

Image
Nisarga Hospital

बाजुराः अविरल वर्षापछि बाजुरामा बाढीपहिरोले वितण्डा मच्चाएको छ। बाढीपहिरोका कारण सडक, खानेपानी, विद्यालय, विद्युत लगायत भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

CP Hospital Dhangadhi

जिल्लाको लाइफलाइन मानिने साँफे–मार्तडी सडक खण्डको तिपाडा–जडाङ्गादेखि मार्तडीसम्म करिब ५० ठाउँमा ठूलो पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। सडक डिभिजन कार्यालय अछामका सुपरभाईजर गोकुल गिरीका अनुसार राप्का, सेलाघाट, सुवाखाँद पावरहाउस र कारागारमुनि ठूलो पहिरो खसेको छ। सडक अवरुद्ध हुँदा जिल्ला भित्रिने र बाहिरिने सबै सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने मार्तडीबाट तल जाने गाडी मार्तडीमै थन्किएका छन्। अहिले स्काइभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ।

शनिबार रातिको वर्षाले बडीमालिका नगरपालिका वडा नं. ६, ७, ८ र ९ मा सबैभन्दा बढी क्षति गरेको छ। बीरेखोला बस्ती उच्च जोखिममा परेपछि स्थानीय त्रिपालको भरमा सुरक्षित स्थानमा बसिरहेका छन्। त्यस्तै गौमूल–२ का गैरा, गताडी, रनेडा, आगर, रातोपानी लगायतका बस्तीमाथिबाट पहिरो खस्दा दर्जनौँ घर भत्किएका छन् भने बाँकी घर बस्न लायक छैनन्।

nawajiwan
Attariya Hospital

साउन ८ र २८ गतेको क्षतिको पीडा नसकिँदै फेरि बाढीले सताएपछि स्थानीयमा ज्यान कसरी जोगाउने भन्ने चिन्ता छ। असारमा लगाएको धान पाक्ने बेलामा बगाएपछि हिउँदमा के खाने भन्ने चिन्ता थपिएको छ।

जिल्ला प्रहरीका अनुसार मानवीय क्षति नभए पनि भौतिक क्षति ठूलो छ। हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगंगा, त्रिवेणी, खप्तड छेडेदहका करिब ९६ बस्ती उच्च जोखिममा छन् र तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ। २०७७/७८ को भूकम्पले त्रसित बाजुरालीलाई अहिले बाढीपहिरोले घरबारविहीन बनाएको छ।