२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको विवाद सुल्झियो !

Image
Nisarga Hospital

विवादका कारण प्रभावित हुँदै आएको २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन स्थानीयवासी र सरोकारवाला निकायबीच सहमति भएको छ । बझाङको तलकोट गाउँपालिका–३ स्थित बस्टीमा पुगेको उच्चस्तरीय टोली र प्रभावित क्षेत्रका बासिन्दा बीच भएको छलफलपछि क्षतिपूर्ति उपलब्ध गराउने र निर्माणमा सहयोग गर्ने समझदारी बनेको हो ।

CP Hospital Dhangadhi

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरण मार्फत निर्माण भइरहेको यो आयोजना बझाङको बहुप्रतीक्षित समृद्धिको आधार मानिन्छ । निर्माणका क्रममा स्थानीयको भौतिक तथा वातावरणीय क्षति भएको भन्दै केही समयदेखि असन्तुष्टि जनाउँदै आएका बस्टीवासीसँग आयोजना पक्ष र जनप्रतिनिधिले प्रत्यक्ष संवाद गरेका हुन् ।


छलफलपछि प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले आयोजनाबाट प्रभावित स्थानीयलाई पुगेको उचित क्षतिपूर्ति आयोजनाले दिने र त्यसबापत स्थानीयले आयोजना निर्माणमा बाधा नपुर्‍याई सहजीकरण गर्ने सहमति भएको जानकारी दिए । महरले भने, चैनपुर सेती बझाङको समृद्धिको खुड्किलो हो । यस्ता गौरवका आयोजना समयमै सम्पन्न गराउन स्थानीयवासीको साथ र आयोजनाको जिम्मेवार व्यवहार दुवै उत्तिकै आवश्यक हुन्छ ।’

nawajiwan
Attariya Hospital

आयोजना स्थलको अनुगमन तथा स्थानीयसँगको छलफलमा प्रतिनिधि सभा सदस्य महरका साथै तलकोट गाउँपालिकाका अध्यक्ष कलक रोकाया, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो । यस्तै आयोजनाका प्रतिनिधिहरू समेत बस्टी पुगेका थिए ।

सुरक्षा निकायका प्रमुखसहित पुगेको टोली र स्थानीयबीच सौहार्दपूर्ण वातावरणमा भएको सहमतिपछि रोकिएका तथा सुस्त बनेका कामहरूले पुनः गति लिने विश्वास लिइएको छ । आयोजना पक्षले क्षतिपूर्तिको प्रक्रिया चाँडै अघि बढाउने प्रतिबद्धता जनाएपछि स्थानीयवासीले पनि निर्माण कार्यमा पूर्ण समन्वय र सहयोग गर्ने जनाएका छन् ।