
प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषमा १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ रुपैयाँ मौज्दात रहेको छ।

कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेपछि मात्रै कोषमा २८ करोड २० लाख १४ हजार ३६६ रुपैयाँ थपिएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा बैंक खातामा जम्मा भएको जनाइएको छ।

सरकारले यसअघि बाढीपीडितको राहत तथा उद्धारका लागि उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

यसैगरी, कोषका दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा पनि सहयोग रकम थपिने क्रम जारी छ। भदौ २६ गते साँझ ५ बजेपछि १ लाख ५४ हजार ७७० अमेरिकी डलर थपिएसँगै डलर खातामा कुल मौज्दात २ करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको कार्यालयले जनाएको छ।































