बैतडी पाटन बहुमुखी क्याम्पसको सन्दर्भमा

Image
Nisarga Hospital

जहिले पनि असोज ८ गते मलाई पाटन बहुमुखी क्याम्पस, बैतडीको इतिहासको सम्झना आइरहेको हुन्छ। मैले धेरैपटक त्यहाँका पालोपालोले हुने क्याम्पस प्रमुखहरू र सरहरुलाई सम्झना गराउँदै आएको छु। तर उहाँहरु बिर्सिनुहुन्छ सायद। अन्य शिक्षक र विद्यार्थीहरू त्यो बेलाका छैनन् पनि तर क्याम्पस प्रमुख र अन्य जिम्मेवार व्यक्तिहरुले आफ्नो संस्थाको बारेमा चासो राख्नै पर्ने हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिमका विद्यार्थीहरू परम्परागत रूपले भारतको उत्तराखण्ड प्रदेशमा अध्ययन गर्न जाने गर्दथे, हाल पनि जान्छन्। तर त्यो बेला उच्च शिक्षाको लागि करिब ९०% भन्दा बढी युवाहरू उतै नै अध्ययन गर्दथे। गाउँघरभन्दा टाढा, भाषा र अर्थ समस्या आदिले उनीहरू धेरै दिगदारी अनुभव गर्दथे। सुदूरपश्चिमका अन्य क्षेत्रहरूका व्यक्तिहरू जस्तै पाटन क्षेत्रका व्यक्तिहरु पनि आफ्नै ठाउँमा एउटा क्याम्पसको स्थापना गरेर आफ्ना बालबालिकाहरूलाई त्यही पढ्न पाएपछि हुन्थ्यो भन्ने प्रबल इच्छा राख्दथे। यसको लागि धेरै पहिलेदेखि प्रयास भइरहेका थिए तर २०४१- ४२ सालदेखि यस्तो मागले जोड गर्यो।

क्याम्पस स्थापनाको लागि जग्गाको खासै समस्या थिएन। मैतड, पाटन, उदयदेव मन्दिरका पण्डाजीको परिवारले श्रीकृष्ण माध्यमिक विद्यालय पाटनलाई विद्यालय स्थापनाको लागि जग्गा प्रदान गरेको थियो। त्यही जग्गाको एउटा हिस्सामा क्याम्पस स्थापना गर्ने कुरा भएको थियो। मुख्य समस्या उच्च शिक्षित व्यक्तिहरूको अभाव थियो। श्रीकृष्ण माविपाटनमा मैले २०४५ सालदेखि अध्यापन सुरु गरेको थिए। र त्यसपछि त्यहीका शिक्षक रणबहादुर चन्दजी अर्थशास्त्र विषयमा एमए गर्दै हुनुहुन्थ्यो। हामी दुईजना शिक्षक रूपमा हामी उपलब्ध हुने भयौँ। क्याम्पस स्थापनाको लागि एउटा समितिको गठन गरियो। सायद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवबहादुर चन्दजीको अध्यक्षतामा त्यो समिति बनेको थियो। समितिको माध्यमले अन्य व्यक्तिहरू क्याम्पस स्थापनाको लागि सक्रिय भए।

nawajiwan

मेरो सम्झना अनुसार केन्द्रमा लोकेन्द्रबहादुर चन्दजी प्रधानमन्त्री हुनुहुन्थ्यो र लक्ष्मण सिंह भण्डारी ज्यू माननीय हुनुहुन्थ्यो। उहाँहरू लगायत केही व्यक्तिहरू केन्द्रीय स्तरबाट सक्रिय भए र हामीहरु पाटनमा जिल्लास्तरीय आधारमा काम गर्न थाल्यो। त्यहाँ सक्रिय रुपले अथवा भनौ संस्थापकको रुपमा श्रीकृष्ण माविपाटनका तत्कालीन प्रधानाध्यापक शिवदत्त जोशीजी, केशवबहादुर चन्दजी, उदयदेव मन्दिरका पुजारी किशनदत्त जोशीजी, विष्णुदत्त जोशीजी, श्रीकृष्ण माविका तत्कालीन शिक्षक नन्दसिंह भण्डारीजी पृथ्वीराज अवस्थीजी र रौलेश्वर बाबा भनेर सुपरिचित एकजना युवा महात्मा लगायतका अनेकन व्यक्तिहरू क्याम्पस स्थापना कार्यको लागि रात दिन खटिन थाले। प्रारम्भिक अवस्थामा म मात्र एकजना स्नातकोत्तर व्यक्ति भएकोले मेरो पनि धेरै जिम्मेवारी थियो। केशवजीले मलाई त्यो क्षेत्र का कक्षा १० उत्तीर्ण विद्यार्थीहरूको नाम संकलन, फार्म जम्मा गर्ने र यस्तै अन्य धेरै जिम्मेवारी दिनुभयो। म, नन्दसिंह सर र प्रताप भट्ट सर आदिले ८० भन्दा बढी फारम सङ्कलन गर्यौ, गाउँ गाउँ घुम्यो। धेरै मेहनत भयो। ती फारमहरुलाई लगेर केशवजी पछि काठमाडौँ जानुभयो क्याम्पस स्वीकृतिको लागि। केन्द्रीय स्तरका नेताहरूसँगै स्थानीय नेताहरू र बुद्धिजीवीहरू अथक रूपले त्यस कार्यमा खटिए।

Attariya Hospital

थुप्रै व्यक्तिहरू थिए, अहिले मसँग अभिलेख छैन। त्यो बेलामा डायरीमा पनि नोट गरेको थिएन। धेरै नाम छुटेका होलान्। बैतडी पाटन बहुमुखी क्याम्पस भनेर मानविकी तथा सामाजिकशास्त्र संकाय भनेर स्वीकृति प्रदान भयो। िद्यार्थी भर्ना गर्‍यौं। एक प्रकारले म अघोषित रूपले क्याम्पसको समन्वयकर्ता, क्याम्पस प्रमुख आदि जेजे गर्न सकिन्थ्यो, ती सबै काम गर्न थाले। २२ – २३ वर्ष मेरो पनि उमेर, विवाह पनि भएको थिएन, त्यस्तो केही जिम्मेवारी थिएन। खुब समय दियौं।
२०४२ साल असोज ८ गते श्रीकृष्ण माविको कक्षा १० पढाइ हुने ठूलो कोठामा उपलब्ध व्यक्तिहरू र नयाँ विद्यार्थीहरूको भेलामा कक्षा ११ का विद्यार्थीहरूको मेरोद्वारा हाजिरी लगाउने कार्य हुँदा आदरणीय पण्डा कृष्णदत्त जोशीजीद्वारा शंखध्वनि गरियो। क्याम्पसको उद्घाटन गरियो। यसरी क्याम्पसमा २०४२ साल असोज ८ गतेदेखि २०४५ चैत्रसम्म पढाइयो पनि। हामीहरू क्याम्पसको आर्थिक फन्डको लागि बजार र गाउँ क्षेत्रहरूमा होली, तिहार आदि कार्यक्रमहरूमा क्याम्पसको लागि चन्दा मागेर म गर्दथ्यौँ।

यसरी क्याम्पसको स्थापना दिवस २०४२ साल आश्विन ८ गते नै हो। क्याम्पसले आफ्नो वार्षिकोत्सव अश्विन ८ गते नै मनाउनुपर्ने हो। प्रारम्भिक विद्यार्थीमा लक्ष्मीदत्त पाण्डेय पनि हुनुहुन्थ्यो, हाल उहाँ त्यहाँका शिक्षक र अधिवक्ता पनि हुनुहुन्छ। यस्ता पुराना विद्यार्थीहरू र त्यहाँका स्थानीय तत्कालीन व्यक्तित्वहरूले क्याम्पस परिवारलाई घचघच्याउनुपर्ने हुन्छ, सहयोग गर्नुपर्ने हुन्छ, निगरानी पनि गर्नुपर्ने हुन्छ। जस्तो स्तरको क्याम्पसको हामीले त्यो बेला कल्पना गरेका थियौं, के त्यसको अनुरूप त्यो भएको छ अथवा छैन त्यसको मूल्याङ्कन पनि गर्नुपर्दछ। क्याम्पसको एउटा संस्थापकका नाताले मेरो त्यो संस्थाप्रति एउटा मातृत्व भाव रहेको हुन्छ। सन्दर्भवश म भनौ कि त्यो क्याम्पसका प्रारम्भिक शिक्षकहरूमा संस्थापकहरू जस्तै महत्त्वपूर्ण भूमिका रणबहादुर चन्द्र सर, खेमराज पनेरु सर, लखनौबाट आएका चन्द्रशेखर जोशी, गंगोलिघाट, पिथौरागढका केवला नन्द पन्त सर आदिको पनि रहेको छ। त्यसपछि अन्यन्य सरहरू पनि आउँदै जाँदै गरे।

मैले मेरो सम्झनालाई याद भएसम्म लिपिबद्ध गरेर पोष्ट गरे। क्याम्पसले यसको बारेमा अभिलेखीकरण कार्य पनि गर्नुपर्दछ। र हाम्रो सहयोग चाहियो भने हामी गर्छौं। म यस क्याम्पसको सधैं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

✍️ प्रा. डा. मुकुन्द कलौनी
२०८३/६/८
महेन्द्रनगर