
घोराहीः दाङको बंगलाचुली गाउँपालिका–१ बोचपोखरामा साहित्यिक सिर्जना वाचन, ज्येष्ठनागरिक सम्मान तथा निःशुल्क स्वास्थ्य शिविरसहितको त्रिवेणी कार्यक्रम सम्पन्न भएको छ। असोज २५ गते आयोजित कार्यक्रममा साहित्य, सामाजिक सम्मान र स्वास्थ्य सेवालाई एकै ठाउँमा जोडिएको थियो।

लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङ र पार्वता स्मृति साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा पार्वता मेडिकल दाङको प्राविधिक एवं आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. टीकाराम उदासीले कार्यक्रम सुन्दर र सराहनीय रहेको बताउँदै अन्य साहित्यिक संस्थाले पनि यस्ता रचनात्मक तथा सामाजिक महत्त्वका कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए।




विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष एवं वरिष्ठ साहित्यकार कमलमणि देवकोटा र प्रगतिशील लेखक संघ (प्रलेस) दाङका अध्यक्ष एवं वरिष्ठ साहित्यकार चन्द्रबहादुर थापाले शुभकामना मन्तव्यसहित आफ्ना साहित्यिक सिर्जना वाचन गरेका थिए।
कार्यक्रममा राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीर, दाङ जिल्ला अध्यक्ष यम रेग्मी, प्रलेसका सचिव पुरन शर्मा, कोषाध्यक्ष दामोदर पौडेल, पत्रकार पदमप्रसाद पोख्रेललगायत विभिन्न साहित्यकार तथा साहित्यिक संस्थाका प्रतिनिधिले शुभकामना मन्तव्यसहित कविता र अन्य साहित्यिक रचना प्रस्तुत गरेका थिए।
महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले पनि गीत तथा कविता प्रस्तुत गरेका थिए। कक्षा १० का विपशा घर्तीमगर र परी बाठामगर, कक्षा ७ का निशा पाण्डे र विनिशा घर्तीमगर तथा कक्षा ५ की पूजा सुनारले आफ्ना प्रस्तुति दिएका थिए।
डेढ दर्जन ज्येष्ठनागरिक सम्मानित
कार्यक्रममा ७५ वर्ष वा सोभन्दा माथिका करिब डेढ दर्जन ज्येष्ठनागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मानित ज्येष्ठनागरिकलाई च्यवनप्राश, सुरेशकुमार पाण्डेद्वारा लिखित लघुकथासंग्रह ‘जेईको सम्झना’ र झिल्का काव्यकृति ‘आँगन’समेत प्रदान गरिएको थियो।
स्वास्थ्य शिविरबाट १०६ जना लाभान्वित
महेन्द्र माध्यमिक विद्यालय, बोचपोखरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १०६ जना बिरामी लाभान्वित भएका छन्। शिविरमा बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरिएको थियो। डा. पंकज नेपाली नेतृत्वको स्वास्थ्यकर्मी टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो।
कार्यक्रममा डा. पंकज नेपाली र बंगलाचुली गाउँपालिका–१ की वडा सदस्य पद्मा परियारले शुभकामना मन्तव्य दिएका थिए। पार्वता मेडिकलका सञ्चालक शिवराज पाण्डे, स्वास्थ्य सहायक महेन्द्र पाण्डे र अनिल बाँठामगरलगायत स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा ज्येष्ठनागरिकको उपस्थिति रहेको थियो।
लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष एवं पार्वता स्मृति साहित्य प्रतिष्ठानका संरक्षक सुरेशकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिवराज पाण्डेले गरेका थिए। कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव एवं झिल्का कविता प्रवर्तक वसन्त अनुभवले गरेका थिए।




































