
जनकपुरधाम : सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा दायित्व फरफारकका लागि सरोकारवालालाई २१ दिनभित्र दाबी पेस गर्न सूचना जारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि दाबी पेस गर्न सूचना निकालिएको हो। मन्त्रिपरिषद्ले २०८२ वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले मूल्याङ्कन गरेको हो।
कारखानाले सोमबार सार्वजनिक सूचना जारी गर्दै कारोबार गर्ने ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई आवश्यक प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ। कुनै निकायको फैसला वा निर्णयअनुसार लिनदिन बाँकी हिसाब, जग्गा रोक्का, बिमा, कर्मचारीका सेवा सुविधासम्बन्धी दाबी तथा उद्योगलाई तिर्न बाँकी बक्यौता भएमा तोकिएको अवधिभित्र सम्पर्क गर्न भनिएको छ।




कारखानाले निर्धारित २१ दिनभित्र दाबी पेस नभएमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने र म्यादपछि उद्योगमाथि कुनै दाबी स्वीकार नगरिने जनाएको छ।
दाबी पेस गर्न इच्छुक व्यक्ति तथा संस्थाले धनुषाको जनकपुरस्थित कारखानाको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। यसका अतिरिक्त ९८४५१०५००८ नम्बरमा फोन गरेर वा कारखानाले सूचनामा उल्लेख गरेको इमेल ठेगानामार्फत पनि आवश्यक विवरण बुझाउन सकिने व्यवस्था गरिएको छ।



































