
अत्तरिया : नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले नयाँ जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ।

सुदूरपश्चिम प्रदेशको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीमा क्षेत्रको प्राकृतिक पहिचानलाई विशेष प्राथमिकता दिइएको छ। जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बंगाल टाइगरको आकृतिसमेत समावेश गरिएको छ।
टोलीका अनुसार ‘अपि एडिसन’ मार्फत अपि हिमालको पर्यटन प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिमको प्राकृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयास गरिएको हो।




सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले नयाँ जर्सीमार्फत क्रिकेटसँग सुदूरपश्चिमको प्राकृतिक सम्पदा र पर्यटनलाई जोड्ने प्रयास गरिएको बताए।
टोलीले नयाँ जर्सी छिट्टै सर्वसाधारणका लागि बिक्रीमा उपलब्ध गराउने जनाएको छ। जर्सी बिक्रीमा आएपछि समर्थकहरूले पनि ‘अपि एडिसन’ खरिद गरी टोलीप्रतिको समर्थन जनाउन सक्नेछन्।



































