नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै, शक्ति र शान्तिको कामनासहित भक्तजनको घुइँचो

Image
Nisarga Hospital

अत्तरिया: बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज देशभरका दसैँघर, पूजा कोठा तथा शक्तिपीठहरूमा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल तृतीयाका दिन श्रद्धा र भक्तिपूर्वक चन्द्रघण्टा देवीको पूजा, ध्यान तथा स्तोत्र पाठ गर्ने धार्मिक परम्परा छ।

CP Hospital Dhangadhi

पौराणिक मान्यताअनुसार चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्र र घण्ट धारण गर्ने भएकाले उहाँको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उहाँलाई चन्द्रघण्टा भनिएको उल्लेख छ। देवीको स्वरूप शान्त, करुणामयी तथा तेजस्वी रहेको धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ।

चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुनुका साथै पाप नाश हुने, मनोकामना पूरा हुने र जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ। विशेषगरी देवीको ध्यान गर्दा शक्ति र आत्मविश्वास प्राप्त हुने मान्यता रहेको छ। यस दिन मणिपुर चक्रमा ध्यान गर्ने परम्परा पनि छ। गीतसङ्गीत क्षेत्रमा आबद्ध व्यक्तिहरूले समेत चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने धार्मिक विश्वास रहिआएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार देवीको पूजा आराधनाबाट शक्ति प्राप्त हुने विश्वासका कारण नवरात्रमा विशेष साधना गर्ने परम्परा बसेको हो। त्यसैगरी वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाबाट पाप नाश हुने विषय उल्लेख गरिएको बताए।

नवरात्रको पहिलो दिन आइतबार दसैँघर तथा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। घटस्थापनाका दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको आह्वान तथा पूजा गरिएको थियो। दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो भने आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा भइरहेको छ।

नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। दसैँघर तथा शक्तिपीठमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधनाबाट शक्ति, ऐश्वर्य, विद्या र सुख–समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। यस अवधिमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ। राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानका प्रसिद्ध शक्तिपीठमा भक्तजनहरू दर्शनका लागि पुग्ने गरेका छन्। कतिपय भक्तजनले नवरात्रका नौ दिनमा नौवटा शक्तिपीठको दर्शन गर्ने धार्मिक मान्यताअनुसार विभिन्न मन्दिरमा पुगेर पूजा आराधना गर्ने गर्छन्।

नवरात्रमा नौ दिनसम्म गरिएको पूजा आराधनापछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद तथा टीका ग्रहण गरी बडादसैँ मनाउने परम्परा छ। यसरी नेपाली समाजमा बडादसैँलाई धार्मिक आस्था, पारिवारिक भेटघाट, आपसी सद्भाव र सांस्कृतिक एकताको पर्वका रूपमा मनाइँदै आएको छ।

Dhnagadhi & Krishanapur