अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको खुलासा, प्रमुख सञ्चारमाध्यमसमेत विवादमा

Image
Nisarga Hospital

अमेरिकामा मध्यावधि चुनाव नजिकिँदै गर्दा नक्कली तथ्याङ्कमा आधारित चुनावी सर्वेक्षण सार्वजनिक भएको खुलासाले राजनीतिक वृत्त र सञ्चारमाध्यममा विवाद सिर्जना गरेको छ। ‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैँले बनाएको स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको हो।

CP Hospital Dhangadhi

संस्थाले नक्कली सर्वेक्षण कम्पनीले कसरी सार्वजनिक चर्चा र विश्वास हासिल गर्न सक्छ भन्ने परीक्षण गर्न यस्तो गरेको दाबी गरेको थियो। यस घटनाबारे तथ्याङ्क अनुसन्धान गर्ने संस्था ‘फिफ्टीप्लसवन’ ले अनुसन्धान गरेपछि खुलासा भएको हो। ‘द न्युयोर्क टाइम्स’ लगायतका प्रमुख सञ्चारमाध्यमले समेत वेजवुडका सर्वेक्षणलाई स्थान दिएका थिए। न्युयोर्क टाइम्सका अनुसार जुनदेखि अक्टोबरसम्म सार्वजनिक गरिएका १५ वटा सर्वेक्षण हटाइएको छ। अहिले वेजवुडको ‘एक्स’ खाता पनि हटाइएको छ।

नक्कली सर्वेक्षणले चुनावी अभियानमा प्रत्यक्ष असर पारेको आरोपसमेत लागेको छ। मिसिगन राज्यकी सिनेट उम्मेदवार म्यालोरी म्याकमोरोले आफ्नो समर्थन एकल अङ्कमा देखाइएको सर्वेक्षण सार्वजनिक भएपछि चन्दा घटेको, स्वयंसेवक निराश भएको र सञ्चारमाध्यमले चुनावी प्रतिस्पर्धाबाट बाहिरिन दबाब दिएको बताएकी छन्। उनले उक्त सर्वेक्षणले आफ्नो चुनावी अभियानलाई गम्भीर क्षति पुर्‍याएको दाबी गरेकी छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नक्कली सर्वेक्षणलाई स्थान दिएको भन्दै ‘द न्युयोर्क टाइम्स’ को आलोचना गरेका छन्। सङ्घीय सञ्चार आयोगका अध्यक्ष ब्रेन्डन कारले पनि चुनावी प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले बनाइएका नक्कली सर्वेक्षण बढिरहेको भन्दै सञ्चारमाध्यमलाई सचेत रहन आग्रह गरेका छन्।

यसअघि ‘मेडियन स्ट्र्याटेजीज’ नामक संस्थाले पनि सर्वेक्षणका नतिजा बनावटी भएको स्वीकार गरेको थियो। विशेषज्ञहरूका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले नक्कली तथ्याङ्क तयार पार्न र तिनलाई वास्तविकजस्तै प्रस्तुत गर्न सहज बनाएको छ। अमेरिकन एसोसिएसन फर पब्लिक ओपिनियन रिसर्चले पनि यस्ता जालसाजी पहिचान गर्न कठिन हुँदै गएको जनाएको छ। संस्थाकी अध्यक्ष मेरी लोशले नक्कली सर्वेक्षणले जनमत र चुनावी सर्वेक्षणप्रतिको विश्वास कमजोर पार्ने चेतावनी दिँदै यस्ता घटनालाई वैध सर्वेक्षणसँग एउटै रूपमा हेर्न नहुनेमा जोड दिएकी छन्।