
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले तीन दिनसम्म पदयात्रा गतिविधि रोक्न आग्रह गरेको छ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते जोखिमपूर्ण मौसमको सम्भावना रहेकाले पदयात्रा नगर्न अनुरोध गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत यी क्षेत्रमा मौसमी विपद्को उच्च जोखिम रहेको चेतावनी दिएको छ।
विभागका अनुसार उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्राका लागि अनुमतिपत्र जारी गरिने छैन। पदयात्राका क्रममा सम्बन्धित क्षेत्रमा पुगिसकेका पर्यटकलाई जथाभावी हिँडडुल नगरी सुरक्षित स्थान वा आश्रयस्थलमा बस्न आग्रह गरिएको छ।




सम्भावित मानवीय दुर्घटना रोक्न ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सरोकारवालालाई सूचनाको कडाइका साथ पालना गर्न र गराउन विभागले निर्देशन दिएको छ।
विभागले विपद्को जोखिम टरेको आधिकारिक सूचना नआएसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रा स्थगित गर्न सबैलाई सचेत गराएको छ।



































