
हिन्दू धर्ममा सातै बारलाई देवी–देवताको उपासनासँग जोडेर हेर्ने परम्परा छ। बुधबारलाई बुध ग्रहसँग सम्बन्धित दिन मानिन्छ। यस दिन भगवान् श्रीकृष्ण र गणेशको पूजा–आराधना गर्दा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

धार्मिक मान्यताअनुसार बुधबार भगवान् श्रीकृष्णको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस दिन तुलसीपत्र अर्पण गरी पूजा गर्नु शुभ मानिन्छ। साथै नयाँ तथा शुभ कार्यको थालनीका लागि पनि बुधबारलाई उत्तम दिन मान्ने चलन छ।
बुधबार गाईलाई हरियो घाँस खुवाउँदा पुण्य प्राप्त हुने र देवी–देवताको कृपा मिल्ने धार्मिक विश्वास छ। त्यस्तै, यस दिन हरियो मुगको दाल दान गर्दा दुःख–कष्ट कम हुने मान्यता रहेको छ।




भगवान् गणेशलाई सिन्दूर अर्पण गरी लड्डु चढाउँदा मनोकामना पूरा हुने विश्वास गरिन्छ। कुण्डलीमा बुध ग्रहसम्बन्धी दोष भएका व्यक्तिले बुधबार गणेशको पूजा तथा आराधना गर्नु फलदायी मानिन्छ। यी धार्मिक मान्यताहरू आस्थामा आधारित छन्।



































