चक्रवात ‘अर्नब’को प्रभाव आज झन् बढ्ने, देशभर वर्षा र हिमपातको सम्भावना, सुरक्षा निकाय हाई अलर्टमा

Image
Nisarga Hospital

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले आज देशभरको मौसम थप प्रभावित हुने भएको छ। मौसमविद्हरूका अनुसार शुक्रबारको तुलनामा आज वर्षाको मात्रा र प्रभाव क्षेत्र बढ्ने सम्भावना छ। देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही क्षेत्रमा भारी वर्षा, हिमपात र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

CP Hospital Dhangadhi

नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले चक्रवात ‘अर्नब’ कमजोर भइसके पनि त्यसको प्रभावका कारण नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना कायम रहेको बताएकी छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा हुन सक्छ। शनिबारदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

मौसम पूर्वानुमानअनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि वर्षा तथा हिमपात हुन सक्नेछ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनीसमेत दिइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ। ती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा समेत वर्षा र हिमपातको सम्भावना छ। आइतबार र सोमबार भने मौसममा क्रमिक सुधार आउने देखिएको छ। ती दुई दिन देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ भने तराई, उपत्यका तथा खोँचहरूमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

सरकार र सुरक्षा निकाय हाई अलर्टमा

चक्रवातको प्रभाव हिमालदेखि तराईसम्म पर्न सक्ने भएपछि सरकारले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ।

विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठकले जोखिमयुक्त जिल्लाको अवस्थाबारे निरन्तर जानकारी लिन, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्न र आवश्यक परे उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्वतारोहण र पदयात्रा नगर्न आग्रह गरेको छ। पदयात्रामा गइसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न तथा किसानलाई कात्तिक १४ गतेसम्म धान नकाट्न सुझाव दिइएको छ।

महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८ः१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कमजोर बनेर गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको हो। यही प्रणालीको प्रभावले बिहीबारदेखि नेपालमा बादल लाग्न र वर्षा हुन थालेको हो।

वर्षा र हिमपातका कारण तापक्रम घटेर चिसो बढ्न सक्ने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र हिमपहिरोको जोखिम रहने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। यातायात व्यवसायीलाई सम्बन्धित जिल्लाको प्रहरी तथा प्रशासनसँग समन्वय गरेर मात्रै सवारी सञ्चालन गर्ने वा नगर्ने निर्णय लिन आग्रह गरिएको छ। सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, मौसमको सूचना पछ्याउन र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।

Dhnagadhi & Krishanapur