
अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण केही स्थानमा भने बदली र हल्का वर्षाको सम्भावना कायमै रहेको छ।
हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।




महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
यसैगरी तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आगामी दिनमा मौसम थप सुधार हुँदै जाने अपेक्षा गरिएको छ।



































